२०८३, भदौ १३ शनिबार
स्वास्थ्य

रिस्तीमा बृहत् स्वास्थ्य शिविर सम्पन्न, ४४४ जनाको स्वास्थ्य परीक्षण

प्रकाशित मिति: २०८२, पुस १२ शनिबार/ Saturday 12-27-25

तनहुँ, पुस १२

व्यास नगरपालिका–८ रिस्तीस्थित वडा कार्यालय परिसरमा आयोजित निशुल्क बृहत् स्वास्थ्य शिविरमा चार सय ४४ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। व्यास नगरपालिकाको आयोजनामा चितवन मेडिकल कलेज, भरतपुर र हिमालय आँखा अस्पताल, पोखराको प्राविधिक सहयोगमा उक्त स्वास्थ्य शिविर सम्पन्न भएको हो।

स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले व्यास–८ का वडाबासीको स्वास्थ्यलाई विशेष ध्यान दिँदै निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको बताए। शिविरबाट ज्येष्ठ नागरिक, महिला, बालबालिका लगायतका नागरिक लाभान्वित भएको नगरप्रमुख न्यौपानेले जानकारी दिए।

व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले निशुल्क स्वास्थ्य शिविरले महिलामा देखिने स्त्री रोग परीक्षणमा सहयोग पुगेको बताइन्। त्यस्तै, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले व्यास नगरपालिकाको २२६ औँ कार्यपालिका बैठकको निर्णयअनुसार निशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिए।

चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले रोग लुकाएर बस्न नहुने बताउँदै समय–समयमा स्वास्थ्य परीक्षण आवश्यक रहेको उल्लेख गरे। हिमालय आँखा अस्पताल, पोखराका नेत्र चिकित्सक सुबास नेपालले आँखा सम्बन्धी समस्या संवेदनशील हुने भएकाले समयमा चेकजाँच आवश्यक रहेको बताए।

व्यास–८ का वडाध्यक्ष युवराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले निशुल्क स्वास्थ्य शिविर प्रभावकारी रहेको बताए।

उक्त स्वास्थ्य शिविरमा चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालको नेतृत्वमा १८ जनाको चिकित्सक टोली, हिमालय आँखा अस्पताल, पोखराका नेत्र चिकित्सक सुबास नेपालको नेतृत्वमा ६ जनाको टोली तथा व्यास नगरपालिकाको स्वास्थ्य तथा जनसंख्या शाखाअन्तर्गतका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो।

स्वास्थ्य शिविरमा स्त्री तथा प्रसूति सम्बन्धी, छाला रोग सम्बन्धी, आँखा, नाक, कान, घाँटी, दन्त, हाडजोर्नी, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ जाँचसहित जनरल फिजिसियन सेवा प्रदान गरिएको व्यास नगरपालिका स्वास्थ्य तथा जनसंख्या शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए।

तपाईको प्रतिक्रिया