पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी सञ्चार सामग्री जफत, पत्रकार महासंघद्वारा विरोध
काठमाडौं,साउन २९
जनआस्था साप्ताहिक पत्रिकाको कार्यालयमा प्रहरी प्रवेश गरी कम्प्युटर, मोबाइल फोनलगायतका सञ्चार सामग्री जफत गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ ।
महासंघले शुक्रबार विज्ञप्ति जारी गर्दै सञ्चार सामग्री जफत गर्ने कार्य संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेप भएको जनाएको हो । महासंघका अनुसार नेपालको संविधानको धारा १९ को उपधारा २ मा कुनै समाचार, लेख, सम्पादकीय, रचना, सूचना वा अन्य सामग्री प्रकाशन वा प्रसारण गरेकै आधारमा सञ्चारमाध्यमलाई बन्द, जफत वा दर्ता खारेज गर्न तथा त्यस्तो सामग्री जफत गर्न नपाइने व्यवस्था छ ।
महासंघले उक्त संवैधानिक व्यवस्थाविपरीत हातहतियारसहित प्रहरी सम्पादकीय कक्षमा प्रवेश गरी सञ्चार उपकरण तथा सामग्री नियन्त्रणमा लिनु संविधानको ठाडो उल्लंघन भएको दाबी गरेको छ । समाचार स्रोतमा पहुँच राख्ने नाममा राज्य संयन्त्रबाट अपनाइएको यस्तो शैली असंवैधानिक र गैरकानुनी भएको महासंघको ठहर छ ।
महासंघले जफत गर्ने उद्देश्यले नियन्त्रणमा लिइएका सञ्चार सामग्री तत्काल फिर्ता गर्न, संविधानको पूर्ण पालना गर्न तथा समाचार स्रोत र सम्पादकीय सामग्रीको गोपनीयता सुरक्षित गर्न सरकारसँग माग गरेको छ ।
यसैबीच, महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा रहेको टोलीले शुक्रबार जनआस्था साप्ताहिकको कार्यालय निरीक्षण गरेको छ । टोलीले प्रहरीद्वारा नियन्त्रणमा लिइएका सामग्री तथा त्यसबाट पत्रिकाको प्रकाशनमा परेको प्रभावबारे जानकारी लिएको महासंघले जनाएको छ ।
महासंघले पत्रकारको सूचना पहुँचमा राज्य संयन्त्रको दुरुपयोग गरी गरिएको नियन्त्रण प्रेस स्वतन्त्रताका लागि गम्भीर चुनौती भएको भन्दै त्यसविरुद्ध आवाज उठाउन सबै स्वतन्त्रतापक्षधर नागरिक तथा समुदायलाई आग्रह गरेको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा राज्यबाट संवैधानिक हकमा भएको अतिक्रमणको घोर निन्दा तथा भर्त्सना गरिएको छ ।
तपाईको प्रतिक्रिया