२०८३, भदौ १३ शनिबार
समाज

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै महासंघको धर्ना

प्रकाशित मिति: २०८३, साउन २८ बिहीबार/ Thursday 08-13-26

काठमाडौं, 

जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघले बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौं अगाडि धर्ना दिएको छ।

महासंघको नेतृत्वमा भएको धर्नामा सहभागी पत्रकारहरूले श्रेष्ठको तत्काल रिहाइको माग गर्दै प्रहरी परिसर अगाडि नाराबाजी गरेका थिए। उनीहरूले ‘पत्रकार तर्साएर प्रेसको मुख थुन्ने प्रयास असम्भव’, ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’ र ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहाइ गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रहरीले श्रेष्ठलाई बुधबार राति ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखेको छ।

महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको जनाएको छ। समाचारको विषयमा कुनै गुनासो वा असहमति भए कानुनी तथा प्रेससम्बन्धी स्थापित प्रक्रियामार्फत समाधान खोज्नुपर्ने महासंघको भनाइ छ।

पत्रकारलाई पक्राउ गरी हिरासतमा राख्ने कार्य स्वीकार्य नहुने भन्दै महासंघले पत्रकारलाई निर्भीक रूपमा समाचार लेख्न र प्रकाशित गर्न सक्ने वातावरण सुनिश्चित गर्न माग गरेको छ।

तपाईको प्रतिक्रिया