२०८३, भदौ १३ शनिबार
समाज

धादिङ दुर्घटनामा मृत्यु हुने १९ मध्ये तनहुँका पाँच जना

प्रकाशित मिति: २०८२, फागुन ११ सोमबार/ Monday 02-23-26

तनहुँ, फागुन ११

सोमबार बिहान धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५ भैसीगौंडास्थित पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग.२ ख.१४२१ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ। दुर्घटनामा मृत्यु भएका सबैको सोमबार साँझ सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

मृतकमध्ये पाँच जना तनहुँ जिल्लाका रहेका छन्। उक्त दुर्घटनामा तनहुँ घर भई व्यास नगरपालिका–४ बस्ने ४० वर्षीय ओमकुमार मल्ल रहेका छन्। मल्ल दुर्घटनामा परेको बसका मालिक हुन्। उनी आफ्नै बसमा श्रीमतीसहित दमौलीबाट काठमाडौं जाँदै थिए। दुर्घटनामा उनकी पत्नी घाइते भएकी छन्।

त्यसैगरी शुक्लागण्डकी नगरपालिका–७ मालेबगर बस्ने ५५ वर्षीया विष्णुमाया ढकाल, सोही स्थानका ६३ वर्षीय रुद्रप्रसाद ढकाल, शुक्लागण्डकी नगरपालिका–२ की २० वर्षीया अर्चना पौडेल र भिमाद नगरपालिका–६ बस्ने ५५ वर्षीय हरिप्रसाद सिग्देलको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मृत्यु हुने अन्यमा कास्की, पोखरा महानगरपालिका–३० बस्ने ४० वर्षीय विवेक बस्तोला, स्याङ्जा वालिङ नगरपालिका–१४ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका–६ बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, धादिङ साबिक सल्यानकोट–८ हाल त्रिपुरासुन्दरी गाउँपालिका–४ बस्ने ३० वर्षीय इन्जिनियर ठकुरी, काठमाडौं महानगरपालिका–६ बौद्ध टुसाल बस्ने ४२ वर्षीय लोप्साङ गोले र पाल्पा तानसेन नगरपालिका–२ बस्ने ५५ वर्षीय नबिन्द्र श्रेष्ठ रहेका छन्।

त्यसैगरी पोखरा महानगरपालिका–१४ की २१ वर्षीया अन्जली क्षेत्री, कास्की माछापुच्छ्रे गाउँपालिका–३ का रोहित नेपाली, स्याङ्जा पुतलीबजार नगरपालिका–६ का ४५ वर्षीय घनश्याम सुवेदी, काठमाडौं–३२ बुद्धनगरकी ३३ वर्षीया अनीशा महर्जन, मोरङ उर्लाबारी–१ की २७ वर्षीया हिरा चौधरी, पोखरा महानगरपालिका–११ का १९ वर्षीय सुजित नेपाली तथा भारत उत्तरप्रदेशका ३२ वर्षीय मनिष शुक्लको पनि मृत्यु भएको छ। साथै एक जना बेलायती र एक जना चिनियाँ नागरिकको समेत ज्यान गएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा २५ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा, १० जनाको नेशनल मेडिकल कलेजमा र एक विदेशी नागरिकको टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको छ।

घाइतेमध्ये तनहुँका पाँच जना रहेका छन्। शुक्लागण्डकी नगरपालिका–४ का ४५ वर्षीय सोमप्रसाद मल्ल, सोही स्थानका १८ वर्षीय सुविन मल्ल, म्याग्दे गाउँपालिका–६ का ४४ वर्षीय मानबहादुर थापा, व्यास नगरपालिका–५ की ३८ वर्षीया सुकमाया श्रेष्ठ र शुक्लागण्डकी नगरपालिका–१२ की १९ वर्षीया सदिक्षा हमाल घाइते भएका छन्। घाइते सुविनको नेशनल मेडिकल कलेज कलंकीमा र अन्यको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

बस सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदीको किनारमा खसेर दुर्घटना भएको थियो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धादिङ, इलाका प्रहरी कार्यालय गजुरी, बेनिघाट लगायत प्रहरी इकाइ, नेपाली सेनाको भैरव गण गजुरी, सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरसहितको उद्धार टोली तथा स्थानीयको सहकार्यमा घाइतेहरूको तत्काल उद्धार गरिएको थियो।

प्रारम्भिक उपचारका लागि मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल, टिचिङ अस्पताल मलेखु र जिल्ला अस्पताल धादिङबेँसी पठाइएका घाइतेमध्ये गम्भीर अवस्थाका बिरामीलाई थप उपचारका लागि काठमाडौंस्थित अस्पतालहरूमा रिफर गरिएको प्रहरीले जनाएको छ। बसमा चालकसहित ४४ जना सवार थिए।

यसबीच दुर्घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले कार्यदल गठन गरेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार सहसचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको हो।

ओमप्रकाश अर्यालको अध्यक्षतामा गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, यातायात विभाग र सडक विभागका महानिर्देशक, यातायात व्यवसायी तथा मजदुर संघका प्रतिनिधि लगायतको उपस्थितिमा बसेको बैठकले उक्त निर्णय गरेको हो। कार्यदललाई दुर्घटनाको विस्तृत छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया