२०८३, भदौ १३ शनिबार
समाज

म्याग्देको नयाँ पहल, ९६ मजदुर बचत कोषमा आबद्ध

प्रकाशित मिति: २०८३, बैशाख २७ आइतबार/ Sunday 05-10-26

तनहुँ, बैशाख २७

दैनिक ज्यालादारी गरेर जीवन धानिरहेका श्रमिकहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यसहित तनहुँको म्याग्दे गाउँपालिका ले ९६ जना विपन्न मजदुरलाई मजदुर सञ्चित कोषमा आबद्ध गरेको छ। गाउँपालिकाले चालु आर्थिक वर्षभित्र दुई चरणमा श्रमिक छनोट गरी उनीहरूलाई औपचारिक रूपमा कोषमा सूचीकृत गरेको हो।  

गाउँपालिकाका अनुसार पहिलो चरणमा ६६ जना र दोस्रो चरणमा ३० जना श्रमिकलाई कोषमा समेटिएको छ। सूचीकृत श्रमिकलाई गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले प्रमाणपत्र वितरण गरेका थिए।  

अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरू दैनिक कमाइमा निर्भर भए पनि बचतको अभावका कारण आकस्मिक समस्या आउँदा ठूलो कठिनाइ भोग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले “मजदुर सञ्चित कोष सञ्चालन कार्यविधि, २०८१” कार्यान्वयनमा ल्याएको जनाएको छ। यस कार्यक्रमले श्रमिकलाई आर्थिक रूपमा सुरक्षित बनाउने, बचत संस्कृतिको विकास गर्ने तथा स्वास्थ्य र सामाजिक सुरक्षामा पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ।  

कार्यविधिअनुसार १८ देखि ५९ वर्ष उमेर समूहका दैनिक ज्यालादारीमा संलग्न विपन्न मजदुरलाई कोषमा समेटिने व्यवस्था गरिएको छ। सार्वजनिक विकास निर्माणका काममा संलग्न श्रमिकको पारिश्रमिक बैंकिङ प्रणालीमार्फत भुक्तानी गरिनेछ। प्राप्त ज्यालाबाट १५ प्रतिशत रकम कट्टा गरी बचत गरिनेछ भने गाउँपालिकाले पनि बराबर १५ प्रतिशत रकम थप गरी श्रमिकको खातामा जम्मा गर्ने व्यवस्था गरिएको छ।  

गाउँपालिकाले यस योजनामार्फत श्रमिकलाई बचतसँगै स्वास्थ्य बीमालगायत सामाजिक सुरक्षा सुविधा उपलब्ध गराउने जनाएको छ। गण्डकी प्रदेशमै यस्तो कार्यक्रम लागू गर्ने दोस्रो तथा तनहुँ जिल्लाको पहिलो स्थानीय तहका रूपमा म्याग्दे गाउँपालिका अगाडि आएको हो।

तपाईको प्रतिक्रिया