२०८३, भदौ १३ शनिबार
समाज

रत्नहरी अस्पताल र उद्योग वाणिज्य संघ दमौली बजार इकाईबीच सहकार्य सम्झौता

प्रकाशित मिति: २०८३, बैशाख २८ सोमबार/ Monday 05-11-26

तनहुँ, वैशाख २८
तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई र रत्नहरी अस्पताल व्यास–४ बीच व्यवसायी तथा उनीहरूका परिवारलाई सहुलियतपूर्ण स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य तथा सम्झौता भएको छ ।
सोमबार रत्नहरि मेमोरियल अस्पताल दमौलीका अध्यक्ष तारा प्रसाद श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा उक्त सम्झौता सम्पन्न भएको हो ।

सम्झौताअनुसार दमौली बजार इकाईमा आबद्ध सदस्य तथा उनीहरूका परिवारले रत्नहरि मेमोरियल अस्पतालमा उपचार गराउँदा उपचार सेवामा १० प्रतिशत, अपरेशन खर्चमा २५ प्रतिशत तथा औषधिमा ५ प्रतिशत छुट पाउनेछन् ।सम्झौतापत्रमा अस्पतालका तर्फबाट अध्यक्ष तारा प्रसाद श्रेष्ठ र व्यवस्थापक लिलबहादुर थापा तथा उद्योग वाणिज्य संघ दमौली बजार इकाईका तर्फबाट सभापति शेषराज श्रेष्ठ र उपसभापति नारायण मल्लले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा बोल्दै इकाईका सभापति शेषराज श्रेष्ठले व्यवसायी तथा सर्वसाधारणको स्वास्थ्य सुरक्षाका लागि यस्ता सहकार्य प्रभावकारी र उपयोगी हुने विश्वास व्यक्त गरे । रत्नहरी अस्पतालका अध्यक्ष तारा प्रसाद श्रेष्ठले गुणस्तरीय, सहज र सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल निरन्तर प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा इकाईका उपसभापति नारायण मल्ल, सचिव सिमरन चन्द, सह–सचिव ठाकुर प्रसाद पौडेल, कोषाध्यक्ष तारा प्रसाद श्रेष्ठलगायत व्यवसायीहरूको उपस्थिति रहेको थियो । अस्पतालका तर्फबाट व्यवस्थापक लिलबहादुर थापा, कृष्णा श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया