२०८३, कार्तिक २ सोमबार
अर्थ/वित्त

आरकेडी होल्डिंगसले रासायनिक मल सहितका उद्योग सञ्चालन गर्ने 

प्रकाशित मिति: २०८०, बैशाख ७ बिहीबार/ Thursday 04-20-23
फोटो : फोटो मिलनको पेजबाट

तनहुँ, ७ बैशाख
 परियोजना निर्माणको इभेन्ट म्यानेजमेन्ट गर्ने र रियल स्टेट ब्यापार गर्ने उद्देश्य राखी ८ वर्ष अगाडी युवा व्यवसायीहरुले स्थापना गरेको आरकेडी होल्डिंग लिमिटेडले थप दुई उद्योग सञ्चालन गर्ने भएको छ । गएको चैत २५ गते पोखरामा सम्पन्न कम्पनीको छैठौ साधारण सभाले उद्योग खोल्ने प्रस्ताब पास गरेको थियो ।   

नेपालमा निर्यातमुखी र उत्पादनमुलक उद्योगको खाँचो भएको महसुस गरी कम्पनीले सोही क्षेत्रमा काम गर्ने योजना बनाएको हो ।कम्पनीको छैठौ साधारण सभामा पारित प्रस्ताब अनुसार घोषित नीति कार्यान्वयन गर्ने दिशामा कम्पनी गइसकेको छ ।कम्पनीले आगामी ४ वर्ष भित्रनै संचालनमा आउने गरी रु.३ अर्ब ५० करोडसम्म लागतको पूर्ण स्वचालित स्टिल उद्योग स्थापना गर्ने योजना बनाएको छ । 

त्यस्तै नेपालको कृषि क्षेत्रमा देखिएको रासायनिक मलखादको मागलाई सम्बोधन गर्न आगामी १० वर्षभित्र सम्पन्न गर्ने गरी पूर्ण इलेक्ट्रिक सिस्टममा आधारित पूर्ण रुपमा स्वचालित अत्याधुनिक प्रकारको रासायनिक मल उद्योग स्थापना गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । 

 ७५ अर्ब नेपाली रुपैयाँ सम्म लागत रहन सक्ने गरी बार्षिक ४ लाख मेट्रिकटन बढी युरिया मल उत्पादन क्षमताको उद्योग स्थापना गर्ने कम्पनीको साधारण सभामा पारित प्रस्ताबमा उल्लेख गरिएको छ ।

 

यस्ता प्रकारको उद्योग स्थापना र संचालन गर्नको लागि यिनै उद्देश्यहरु मात्र रहने गरी आरकेडी होल्डिंग लिमिटेडले आफ्नो कम्पनी समुहको नियन्त्रणमा ५१प्रतिशत  शेयर रहने र अन्य बाँकी शेयर इच्छुक अन्य पक्षहरुलाइ उपलब्ध गराउने प्रस्ताव गरिएको छ । 

तत्कालै दुई कम्पनी स्थापना गरेर रासायनिक मल उद्योगको अवस्था ,लगानी मोडल,  प्रारम्भिक सम्भावना अध्ययन ,(सामथ्र्य , कमजोरी , अवसर र चुनौती स्वट) विश्लेषण , राजनीतिक, आर्थिक, सामाजिक, प्राविधिक, र बातावरणीय पेस्ट) पक्षको विश्लेषण , ब्यापार विश्लेषण, (उदयमान बजार र बिकशित अर्थतन्त्र इ.एम.डी.इ.) विश्लेषण , प्रारम्भिक प्राबिधिक श्रोत सम्भाव्यता अध्ययन, बिस्तृत परियोजना प्रतिबेदन निर्माण, र अतिरिक्त अनुसन्धान अगाडी बढाउने गरी बजेटको समेत व्यवस्था गर्ने प्रस्ताब गरिएको कम्पनीले जनाएको छ । 

यी दुई उद्योगको स्थापना र संचालनबाट नेपालको आर्थिक बिकासमा टेवा पुग्ने र निर्यातमुखी एवं उत्पादनमुखी अर्थ व्यवस्थाको बाटो खुल्ने कम्पनीले विश्वास लिएको छ । आम मानिसहरुको तह बाटनै मिलेर नेपालमा केही गर्ने पर्दछ भन्ने लागेर यति ठुलो लागानीका उद्योग सञ्चालनको योजना अगाडी बढाउने साहास गरेको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले बताए । 
 नेपालमा बार्षिक ८ लाख मेट्रिकटन बढी युरिया मलको माग रही रहेकोले यस्तो उद्योग खोल्नको लागि राज्यले समेत अधिकतम सहजीकरण गरिदिनुपर्ने उनको भनाइ छ । 

रियल स्टेट ,पूर्वाधार , पर्यटन , होटल, साहसिक पर्यटन क्षेत्र र मुख्यगरि रोप –वे केवलकारको उद्योगहरु निर्माणको नेतृत्व गरीरहेको यस कम्पनी समूहले ती क्षेत्रलाई थप व्यवस्थित गरी देशका सातै प्रदेशमा केवलकार सहितको तारे होटलहरु निर्माण गर्ने नीति लिएर काम गरिरहेको छ ।  

उक्त समूहले बन्दीपुरमा ५ तारे होटल सहितको ४ अर्बको परियोजना निर्माण सम्पन्न गरी सञ्चालनको चरणमा छ । रुपन्देहीको भैरहवामा लर्ड बुद्ध अन्तरास्ट्रिय टुरिजम गार्डेन निर्माणको काम  गरिरहेको छ ।  तनहुँको आबुँखैरेनीमा ५ अर्बको लागतमा पृथ्वी राजमार्ग खानीखोलादेखि छिम्केश्वरी मन्दिरसम्म ३६ सय मिटर लामो केवलकार सहितको अत्याधुनिक सांस्कृतिक थिम पार्कको काम अगाडी बढाइरहेको छ । यसैगरी  पोखराको पंचासेमा ८ अर्ब लागत रहने गरी पर्यटन पूर्वाधारयुक्त केवलकार निर्माणको काम समेत अगाडी बढाएको छ । 

उक्त कम्पनी समुहमा स्वदेश र प्रबासमा रहेका११ हजार बढी लगानीकर्ताहरु र २१ बढी कम्पनी रहेका छन् । कम्पनीले जारि पुंजी २ अर्ब ५० करोडबाट आवश्यकता अनुरुप बृद्धी गरि आर्थिक स्वपुंजीको लागि अगाढी बढ्ने नीति लिएको कम्पनीका आर्थिक परामर्शदाता व्यक्ती सी ए दिपक गौतमले बताए ।  अर्को वर्ष कम्पनी समूह अन्तर्गतको आरकेडी होल्डिंगले १२ प्रतिशत हुने गरि आइपीओ समेत निश्काशन गर्ने तयारी गरेको पनि उनले जानकारी दिए ।   
 

तपाईको प्रतिक्रिया