२०८३, कार्तिक २ सोमबार
समाज

पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

प्रकाशित मिति: २०८३, असोज २३ शुक्रबार/ Friday 10-09-26

 

पोखरा, २३ असोज

पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। यसअघि तीन जनाको मृत्यु भएकोमा उपचारका क्रममा थप दुई बालिकाको ज्यान गएपछि मृतकको संख्या पाँच पुगेको हो।

कास्कीका प्रहरी प्रमुख एसपी नवीन कार्कीले उपचारका क्रममा थप दुई बालिकाको मृत्यु भएको पुष्टि गरेका छन्। दुर्घटनामा घाइते भएका अन्य यात्रुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनाका बेला बसमा चालक र सहचालकसहित २५ जना सवार रहेको बताइएको छ।

प्रहरीका अनुसार बसमा सवार २१ जना विद्यार्थी कक्षा १० मा अध्ययनरत थिए। उनीहरू बिहान परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै गर्दा दुर्घटनामा परेका हुन्।

दुर्घटनामा ज्यान गुमाउनेहरूको पहिचान खुल्न बाँकी छ। उद्धारकार्य पूरा भएपछि मृतक तथा घाइतेहरूको पहिचान खुलाउने काम गरिने प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।

तपाईको प्रतिक्रिया