२०८३, कार्तिक २ सोमबार
कला/कलाकार

भारतीय अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

गोवास्थित निवासमा हृदयाघात भएपछि अस्पताल लगिएका पाटेकरलाई बचाउन चिकित्सकले ४५ मिनेटसम्म प्रयास गरेका थिए।
प्रकाशित मिति: २०८३, असोज २२ बिहीबार/ Thursday 10-08-26

काठमाडौं, २२ असोज 

भारतीय चलचित्र क्षेत्रका चर्चित अभिनेता, निर्देशक तथा समाजसेवी नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। गोवास्थित आफ्नै निवासमा हृदयाघात भएपछि अस्पताल लगिएका पाटेकरलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

समाचार एजेन्सी एएनआईका अनुसार बिहीबार बिहान ५ः२० बजे चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। अस्पतालका चिकित्सकका अनुसार पाटेकरलाई बचाउन करिब ४५ मिनेटसम्म निरन्तर मुटु तथा श्वासप्रश्वास पुनः सञ्चालन गराउने प्रक्रिया (सीपीआर) अपनाइएको थियो। तर, उनलाई बचाउन सकिएन।

सन् १९७८ मा चलचित्र ‘गमन’बाट अभिनय यात्रा सुरु गरेका पाटेकरले चार दशकभन्दा लामो समय भारतीय चलचित्र क्षेत्रमा बिताए। सशक्त अभिनय, प्रभावशाली संवाद प्रस्तुति र फरक चरित्रलाई जीवन्त बनाउने क्षमताका कारण उनी हिन्दी तथा मराठी चलचित्रका स्थापित कलाकारका रूपमा परिचित थिए।

उनले आफ्नो अभिनय यात्रामा तीन पटक राष्ट्रिय चलचित्र पुरस्कार (नेसनल फिल्म अवार्ड) प्राप्त गरेका थिए। चलचित्र ‘परिन्दा’मा सहायक भूमिकाका लागि र ‘क्रान्तिवीर’मा मुख्य भूमिकाका लागि उनले विशेष चर्चा कमाएका थिए। सन् २०१३ मा भारत सरकारले उनलाई चलचित्र क्षेत्रमा पुर्‍याएको योगदानका लागि चौथो सर्वोच्च नागरिक सम्मान ‘पद्मश्री’ प्रदान गरेको थियो।

पाटेकरले ‘नटसम्राट’, ‘वजूद’, ‘परिन्दा’, ‘अब तक छप्पन’, ‘यशवन्त’, ‘शक्ति : द पावर’, ‘अपहरण’ र ‘ट्याक्सी नम्बर ९२११’ लगायतका चलचित्रमा अभिनय गरेका थिए। गम्भीर भूमिकासँगै हास्यप्रधान चरित्रमा पनि उत्तिकै प्रभावशाली देखिएका उनी सन् २००७ को चर्चित चलचित्र ‘वेलकम’मा निभाएको ग्याङ्स्टर उदय शेट्टीको भूमिकाबाट नयाँ पुस्ताका दर्शकमाझ समेत लोकप्रिय बनेका थिए। यसको सिक्वेल ‘वेलकम ब्याक’मा पनि उनले अभिनय गरेका थिए।

अभिनयमा मात्र सीमित नरहेका पाटेकरले सन् १९९१ मा भारतीय सेनाको पृष्ठभूमिमा आधारित चलचित्र ‘प्रहार : द फाइनल अट्याक’को निर्देशन र अभिनय दुवै गरेका थिए। पछिल्ला वर्षहरूमा उनी ‘वनवास’ (२०२४), ‘हाउसफुल–५’ (२०२५), ‘ओ’रोमियो’ र ‘सुबेदार’ लगायतका चलचित्रमा देखिएका थिए। सन् २०२६ मा प्रकाश झाको राजनीतिक धारावाहिक ‘संकल्प’मार्फत उनी डिजिटल चलचित्र तथा धारावाहिकको क्षेत्रमा पनि सक्रिय थिए।

साधारण जीवन र समाजसेवामा योगदान

विश्वनाथ पाटेकर नामले जन्मिएका नानाको जन्म सन् १९५१ जनवरी १ मा महाराष्ट्रको रायगड जिल्लास्थित मुरुड–जञ्जिरामा भएको थियो। उनका पिता दिनकर पाटेकर कपडाको व्यापार गर्थे भने आमा निर्मला पाटेकर गृहिणी थिइन्।

उनले १३ वर्षको उमेरमै चलचित्रका पोस्टर रङ्ग्याउनेलगायतका साना काम गरेर जीविकोपार्जन गर्न थालेका थिए। पछि उनले मुम्बईस्थित सर जेजे इन्स्टिच्युट अफ एप्लाइड आर्टबाट व्यावसायिक कलामा डिप्लोमा गरेका थिए।

पाटेकरको व्यक्तिगत जीवन पनि संघर्षपूर्ण रह्यो। उनले सन् १९७८ मा बैंक अधिकृत तथा रङ्गमञ्च कलाकार नीलकान्ती पाटेकरसँग विवाह गरेका थिए। पछि उनीहरू अलग बस्न थाले पनि औपचारिक रूपमा सम्बन्धविच्छेद गरेका थिएनन्। उनका दुई छोरामध्ये जेठा छोरा दुर्वासाको दुई वर्षको उमेरमा निधन भएको थियो भने कान्छा छोरा मल्हार पाटेकर चलचित्र क्षेत्रमा सक्रिय छन्।

चलचित्र क्षेत्रबाट ख्याति कमाएका पाटेकर समाजसेवामा पनि उत्तिकै सक्रिय थिए। महाराष्ट्रका खडेरीपीडित किसानलाई सहयोग गर्न तथा किसान आत्महत्याको समस्या न्यूनीकरणमा योगदान पुर्‍याउन उनले अभिनेता मकरन्द अनासपुरेसँग मिलेर ‘नाम फाउन्डेसन’ स्थापना गरेका थिए। उक्त संस्थामार्फत विपन्न किसानलाई सहयोग, राहत तथा ग्रामीण क्षेत्रको पुनर्निर्माणका काम गरिएका थिए।

आर्थिक रूपमा सम्पन्न भए पनि पाटेकर साधारण जीवनशैलीका लागि परिचित थिए। मुम्बईको सामान्य आवासमा बस्न र पुणेनजिकै रहेको आफ्नो फार्महाउसमा खेतीपाती गर्न रुचाउने उनले अभिनयसँगै समाजसेवामा पुर्‍याएको योगदानका कारण पनि विशेष पहिचान बनाएका थिए।

उनको निधनसँगै भारतीय चलचित्र क्षेत्रले एक अनुभवी कलाकार गुमाएको छ।

तपाईको प्रतिक्रिया