२०८३, कार्तिक ९ सोमबार
राजनीति

कांग्रेसको वडा अधिवेशन ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

प्रकाशित मिति: २०८३, असोज ४ आइतबार/ Sunday 09-20-26

काठमाडौं, ४ असोज 
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि भइरहेको वडा अधिवेशनअन्तर्गत दुई दिनमा ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन प्रक्रिया सम्पन्न भएको छ।

असोज ३ गतेदेखि सुरु भएको वडा अधिवेशनअन्तर्गत अधिकांश जिल्लामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ। हिमाल, पहाड र तराईका अधिकांश जिल्लाका वडामा अधिवेशन सम्पन्न भएको हो।

यद्यपि केही जिल्ला तथा निर्वाचन क्षेत्रमा भने अधिवेशन हुन बाँकी छ। रसुवा, नुवाकोट र धादिङका साथै सप्तरीका क्षेत्र नम्बर २ र ४, सिरहा, मोरङ क्षेत्र नम्बर ६, रौतहट क्षेत्र नम्बर १, सर्लाही क्षेत्र नम्बर २ र पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ मा वडा अधिवेशन सम्पन्न हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार असोज ४ गते सम्पन्न हुन नसकेका तथा बाँकी रहेका वडाको अधिवेशन असोज ५ गते पनि सञ्चालन हुनेछ।

कांग्रेसको निर्वाचन कार्यतालिकाअनुसार वडा अधिवेशनपछि गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते तथा प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते हुनेछ। त्यसपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आयोजना गर्ने कार्यतालिका छ।
 

तपाईको प्रतिक्रिया