२०८३, कार्तिक ९ सोमबार
राजनीति

एमालेले कार्यदलको प्रतिवेदन अनुमोदन गर्‍यो, नेतृत्वसम्बन्धी विवादित विषय हटाइयो

प्रकाशित मिति: २०८३, असोज ४ आइतबार/ Sunday 09-20-26

काठमाडौं,असोज ४

नेकपा (एमाले) को सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको एकीकृत प्रतिवेदन अनुमोदन गरेको छ। प्रतिवेदनमा नेतृत्व परिवर्तनसँग सम्बन्धित विवादित विषय हटाइएको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेन्डासमेत तय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए। बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय पनि गरेको छ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनलाई सचिवालयले सर्वसम्मत रूपमा स्वीकार गरेको उपमहासचिव लेखराज भट्टले बताए। उनका अनुसार चार महिनाको अध्ययन र छलफलपछि तयार भएको प्रतिवेदनमा नेतृत्वसँग सम्बन्धित विवादित विषय हटाइएको छ।

कार्यदलमा महासचिव शंकर पोखरेल र संयोजक बादलका छुट्टाछुट्टै प्रतिवेदनमाथि छलफल भएको थियो। त्यसपछि विभिन्न सुझावलाई समेटेर एकीकृत प्रतिवेदन तयार गरिएको हो। प्रदेश तथा विभिन्न तहबाट आएका सुझावलाई प्रतिवेदनको अनुसूचीमा राखिएको छ।

प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामासहित नेतृत्व परिवर्तनसम्बन्धी विषय नराखिएको छ। यसअघि कार्यदलभित्र नेतृत्व पुनर्गठनका विषयमा फरक धारणा देखिएपछि त्यसलाई मिलाएर साझा प्रतिवेदन तयार गरिएको थियो।

सचिवालयबाट अनुमोदित प्रतिवेदनमाथि सोमबारदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकमा छलफल हुनेछ। केन्द्रीय कमिटी बैठक असोज ५ गतेदेखि सुरु हुँदैछ।

तपाईको प्रतिक्रिया