माहेन्द्री माविका शिक्षक शिवचन्द्र आचार्यलाई बाजागाजासहित सम्मान तथा विदाई
तनहुँ, असोज १७
तनहुँको व्यास–९ झिनुवाटर स्थित माहेन्द्री माध्यमिक विद्यालय लामो समयदेखि अध्यापनरत शिक्षक एवं पूर्वप्रधानाध्यापक शिवचन्द्र आचार्यलाई बाजागाजासहित सम्मान तथा विदाई गरिएको छ।
अनिवार्य अवकाश प्राप्त शिक्षक आचार्यलाई विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावकले बाजागाजासहित कार्यक्रम आयोजना गरी व्यास–९, रिठ्ठाबोटस्थित उनको घरसम्म पुर्याएका थिए।आचार्यले २०८३/०६/१६ गतेदेखि अनिवार्य अवकाश प्राप्त गरेका हुन्।
उनले २०४६/०२/२५ गतेदेखि प्राथमिक तहमा स्थायी नियुक्ति लिएर शिक्षण सेवा सुरु गरेका थिए। त्यसपछि २०६०/०८/२६ गतेदेखि निम्नमाध्यमिक तह तृतीय श्रेणीमा स्थायी नियुक्ति लिएर निरन्तर शिक्षण पेसामा संलग्न रहेका थिए ।
२०७१/०१/२० गतेदेखि माहेन्द्री माविमा अनवरत रूपमा कार्यरत आचार्यले २०७९/०४/१५ देखि २०८१/०४/०४ गतेसम्म विद्यालयको प्रधानाध्यापकको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।
शिक्षण पेसाको यात्रामा ३७ वर्ष ३ महिना २१ दिन स्थायी सेवासहित करिब ४१ वर्ष शिक्षण क्षेत्रमा योगदान गरेका आचार्यलाई विद्यालयले दीर्घ सेवा सम्मानपत्र प्रदान गरेको थियो।
विद्यालय र समग्र शिक्षा क्षेत्रको उन्नयनमा उनले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै शिक्षकहरू तथा कक्षागत रूपमा विद्यार्थीहरूले समेत उनलाई सम्मान गरेका थिए।
विदाई कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। पञ्चेबाजाको धुनमा विद्यार्थीहरूले सेवानिवृत्त शिक्षक आचार्यलाई छमछमी नचाएर विदाई गरेका थिए।
आचार्यलाई असल, अनुशासित, कर्तव्यनिष्ठ, मिलनसार तथा शालीन शिक्षकका रूपमा वक्ताहरूले स्मरण गरेका थिए। कार्यक्रममा विभिन्न वक्ताहरूले उनको लामो शिक्षण सेवाको प्रशंसा गर्दै माहेन्द्री माविको शैक्षिक विकासमा उनले पुर्याएको योगदानको चर्चा गरे।
विदाई समारोहका प्रमुख अतिथि व्यास नगरपालिका–९ का वडा अध्यक्ष सुरेश थापाले आगामी दिनमा शिवचन्द्र आचार्यसँगै सामाजिक सेवामा संलग्न हुने बताए।
कार्यक्रममा विद्यार्थी, शिक्षक, शिक्षक–अभिभावक संघ तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूले आचार्यको योगदानको प्रशंसा गर्दै उनको सेवानिवृत्त जीवन सुख, शान्ति, समृद्धि, दीर्घायु एवं थप सफलतामय रहोस् भन्ने शुभकामना व्यक्त गरे।
तपाईको प्रतिक्रिया